बिर्तामोड ।
झापाको बिर्तामोडमा उद्योगी तथा व्यवसायी निर्मल भट्टराईले जन्मदिनको अवसर पारेर आमा गुमाएका मेचीनगर–१२ का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधिन घरका लागि आर्थिक सहयोग गरेका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा बिभिन्न संघ संस्थामा आबद्ध युवा व्यवसायी भट्टराईले आज (बिहिबार) पर्न गएको जन्मदिनमा आमा गुमाएका बालबालिकाका लागि निर्माण हुँदै गरेको घरमा नगद ११ हजार रुपैंयाँ सहयोग गरेका हुन् । झण्डै एक महिना अघि ती बालबालिकाकी आमा पदमा भुजेलको ४८ वर्षको अल्पायुमै निधन भएको थियो ।
दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल (कक्षा ५), तारा भुजेल (कक्षा ४) र एक छोरी करुणा भुजेल (कक्षा २) को बिचल्ली भएको हो । उनीहरु स्थानीय बलभद्र माविमा अध्ययनरत छन् ।
मेचीनगर–१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरु बस्दै आएका थिए । बगरको दश धुर ऐलानी जग्गामा बनेको उक्त झुपडीमा हाल पक्की घर बन्दै छ । आज व्यवसायी भट्टराई, उनकी आमा मायादेवी भट्टराई, बैनी शान्ता बिष्टले संयुक्त रुपमा आर्थिक सहयोग रकम घर निमार्ण समितिका संयोजक पत्रकार घिमिरेलाई प्रदान गरेका हुन् ।
त्यसै गरी भट्टराईले आजै झापाको बिर्तामोड ७ स्थित बाह्रघरेका एक विपन्न परिवारलाई खाद्ययन्न सहयोग गरेका छन् । उनले अशक्त बुद्धराज चौधरी र सुत्केरी देबकी चौधरीलाई उनीहरुको घरमै पुगेर सहयोग गरेका हुन् । उनले चामल, दाल, चना, तेल लगायतका सामाग्री र नगद समेत प्रदान गरे । भट्टराईसहित उनकी आमा मायादेवी, श्रीमती सुमित्रा भट्टराईले उनीहरुलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तानतरण गरेका थिए । भट्टराईले गरेको सहयोगको सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष तथा स्थानीय बद्री प्याकुरेल, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले प्रशंसा गरेका थिए ।