झापा ।
म्यानपावर ब्यवसायीहरुको निर्वाचन शनिबार (भोली) हुने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको निर्वाचन भोली हुने भएको हो ।
एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति तोकिएको छ । साधारण सभाको मिति नजिकिएसँगै गोप्य रणनीतिका साथ आन्तरिक तयारी तीव्र पारेका नेतृत्वका आकांक्षी व्यवसायीहरू सार्वजनिक हुन थालेका छन् ।
कांग्रेसले सकेसम्म सहमतिमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका कांग्रेसी व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्ने वातावरण तयार गरिरहेका छन् । अध्यक्षका लागि तृतीय उपाध्यक्ष दीपक थापा, पूर्ववरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल, सल्लाहकार किशोरकुमार केसी, संस्थापक मध्येका चिरञ्जीवी बस्याल, प्रथम उपाध्यक्ष भगीरथ राई (रमेश) लगायतले तयारी गरेका छन् । पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने र पूर्ववरिष्ठ उपाध्यक्ष ऋषि शर्माले सर्वसम्मतिले नेतृत्व दिए लिने बताएका छन् ।
प्रथम उपाध्यक्षमा भवानी निरौला, विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रुची देखाएका छन् भने महासचिवमा पंकज कोइराला, मोहन ढुंगेल र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिक रूपमा व्यक्त गरेका छन् । कतिपयले अन्तिम समयमा उम्मेदवारहरूको अवस्था हेरेर सरप्राइज उम्मेदवारी दिने बताएका छन् । प्यानल सार्वजनिक गर्दा अर्को समूहले चलखेल गर्ने र फुटाउने त्रासले सबैले आफ्नो रणनीति गोप्य राखेको बताइएको छ ।
हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् । एशोसिएसनको विधानमा कार्यसमितिमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ ।
एशोसिएसनको साधारण सभामा ३ सय ५० व्यवसायीले भाग लिने भएका छन् । बिहीबार निर्धारण गरिएको समयसम्म उक्त संख्यामा व्यवसायीले वार्षिक सदस्यता शुल्क बुझाएर प्रतिनिधि पठाएका छन् ।