बिर्तामोड । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले भष्ट्राचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको मुमिका बिषयक अन्तरक्रिया गरेको छ । आयोगले झापाको बिर्तामोड नगरपालिकामा बुधवार (आज) अन्तरक्रिया गरेको हो ।  अन्तरक्रियामा २ आर्थिक बर्ष बर्षमा आयोगमा परेको उजुरी, फछ्यौट र बाँकि रहेको उजुरीको तथ्याङ्कसमेत सार्वजनिक गरिएको थियो । 

आर्थिक बर्ष २०७८/०७९ मा ९१ र २०७९/०८० मा १२४ गरेर झापाका जम्मा  २१५ वटा उजुरी परेका मध्ये १४४ वटा फछ्यौट भएका छन् भने ७१ वटा बाँकि रहेको आयोगले जनाएको छ ।

आयोगको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९ र ०७९/०८० मा आयोगमा २ हजार ४०८ परेका छन् । जस मध्ये एक हजार ६६४ फछ्यौट भएका छन् भने ७४४ बाँकि रहेका छन् । संघीय मामिला, शिक्षा, भूमिसुधार, बन, भौतिक अन्य गरेर दुई हजार ४०८ वटा उजुरी २ बर्षको अवधिमा परेको आयोगको तथ्याङ्कमा उल्लेख छ । अन्तरक्रियाका सहजीकरण आयोगका उपसचिव निरजकुमार देवले गरेका थिए । 

कोशी प्रदेशका १२ वटा जिल्लाका १२९ स्थानीय तहको उजुरी हेर्दै आएको आयोगको इटहरीले भष्ट्राचार हुने क्षेत्र, भष्ट्राचारको प्रवृत्ति, अन्तरक्रियाका उदेश्यबारे जानकारी दिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाध्यक्षहरु, वडाका जनप्रतिनिधिहरु, नगरका सामाजिक संघ/संस्थाका प्रतिनिधि, नगरका कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।