झापा । 

तीब्बतीयन मुलकी भारतिय महिला चाँदीसहित पक्राउ परेकी छिन् । अवैधानिक रुपमा चाँदी बोकी चन्द्रगढी झापाबाट बेलुकाको समयमा काठमाडौ जादैं छिन् भन्ने गोप्य सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली शुक्रवार ६ः३० बजेको समयमा चन्द्रगढी नागरिक उड्यन कार्यालय परिसरमा रहेको कार्यालय भवनको मुल ढोका अगाडी फेला पारी ती महिला पक्राउ परेकी हुन् । 

 कालो ब्याग र सुटकेश बोकी आउँदै गरेकी भारतस्थित उत्तराखण्ड राज्य देहरादुनको तिब्बतीयन कोलोनीमा बस्ने ३१ बर्षिया तेंजिन पलडोंलाई प्रहरीले पक्राउ गरेको हो । 

कानुन अनुसार खानतलासी लिदा उनले बोकेको सुटकेश भित्र कालो प्लाष्टिकको झोलामा चाँदी जस्तो देखिने २ वटा सेतो धातुको डल्लो फेला परेपछि तत्काल मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा २ केजी ५ ग्राम रहेको र कालो रङको लेडिज पर्स भित्र भारतीय ५०० दरको नोट ५७  थान जम्मा २८ हजार ५००, आइफोन १२ प्रो म्याक्स मोबाइल थान १, एनसेल कम्पनीको सिमकार्ड थान– २ र भारतीय सिमकार्ड थान–१ फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको छ । 

नियन्त्रण गरिएकी ती महिलाको बिषयमा थप आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ । उक्त  बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।