झापा । 

अमेरिका, क्यानडा र बेलायत पठाउने भन्दै डेढ करोड बढी ठगी गरेर सम्पर्कबिही भएका तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।  मानव तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भइ हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेको केन्द्रीय प्रहरीले जानकारी दिएको छ ।

चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनि चार जना पीडितबाट एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका जनाइएको छ । 

चौधरीले पीडितलाई ब्राजिलको वर्किङ भिसामा लगाइ श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पु¥याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरु नेपाल फर्केपछि पुनः दिल्ली पुर्‍याइ होटलमा बन्धक बनाइएको र पीडितहरुले ३९ लाख बुझाएपछि होटलबाट मुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको हो । 

त्यस्तै वैदेशिक रोजगारीका लागि क्यानडा र बेलायत पठाइदिने भन्दै ४५ लाख रूपैयाँ भन्दा बढी रकम लिएर सम्पर्कविहीन भएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोर्खा गण्डकी गाउँपालिकाका वकिल बहादुर आले र तनहुँका धर्मेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । आले राजन सुनारसहित ६ जनालाई क्यानडा पठाउने भन्दै ३६ लाख रूपैयाँ लिएर फरार भएका थिए । उनले क्यानडामा १ लाख ८० हजार रूपैयाँ तलब हुन्छ भनि झुक्याएर उक्त रकम हात पारेको प्रहरीले जनाएको छ ।

तनहुँका श्रेष्ठलाई सुविना श्रेष्ठसमेत दुई जनालाई आकर्षक तलबको रोजगारीमा बेलायत पठाइदिने भनि ९ लाख ५० हजार रूपैयाँ लिएर फरार भएको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।