अर्जुनधारा ।

नेपालमै पहिलो पटक झापाको अर्जुनधारा नगरपालिकाले पशुपन्छीका लागि अर्जुनधारा भेटेरीनरी अस्पताल निर्माण शुरु गरेको छ । अर्जुनधारा ९ स्थित कटहरडाँडामा सोमबार (आज) नगरले पशुपन्छी तथा मत्स्य शाखा अन्तरगत अस्पताल भवनको निर्माण शुरु गरेको हो ।अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले पशु अस्पताल भवनको  शिलान्यास गरेका छन् ।

पशुलाई अस्पतालमै लगेर उपचार गर्न सकिने खालको अस्पताल नेपालमै पहिलो पटक अर्जुनधारामा निर्माण गर्न लागिएको नगर प्रमुख बलदेवले दावी गरेका छन् । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा नगरले अस्पताल निर्माण शुरु गरेको उनले बताए । नगर प्रमुख बलदेवले निर्माण हुने भेटेरीनरी अस्पतालबाट छिमेकी पालिकासहित कोशी प्रदेशभरी पशुपन्छी पालकले सेवा लिन सक्ने बताएका छन् ।

aspatal

अर्जुनधारा नगरको पशुपन्छी तथा मत्स्य विकास शाखा अन्तरगत पशुलाई प्राविधिक तथा गुणस्तरीय सेवा दिने उदेश्यले अस्पताल भवन निर्माण शुरु गरेको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए । उनका अनुसार उक्त भेटनरी अस्पतालमा पशुका लागि भिडियो एक्सरे, अप्रेशन थे्रटर, ओपिडी सेवा, पोष्टमर्टमलगायतका सम्पूर्ण सेवा दिइनेछ । १० कठ्का क्षेत्रफल रहेको उक्त अस्पताल ५ कठ्ठाको क्षेत्रफलमा निर्माण हुने राईले बताएका छन् ।

कार्यक्रममा स्थानीय डिल्लीराम दाहालले नगरमा पशुका लागि निर्माण हुने भेटेरीनरी अस्पतालबाट स्थानीय कृषका लागि ठूलो राहत हुने भएकाले खुसी ब्यक्त गरे ।

नगर प्रमुख बलदेवको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, आर्थिक बिकास समिति संयोजक गौरीमाया चिमरिया,, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, कार्यपालिका सदस्य भोला परियार, मुना खत्री, सन्तोष मेचे, वडा नं. ११ का वडासदस्य सिता कडेल, निर्माण ब्यवसायी बिजय सेन्दाङलगायतको आतिथ्य रहेको थियो ।

नगरको बहुबर्षिय योजना अन्तरगत निर्माण हुन लागेको उक्त अस्पताल चार करोड १० लाखमा डिपिआर गरिएको थियो । त्यस्तै २ करोड ४४ लाख रुपैयाँको टेन्डर आव्हान गरिएको र १ करोड ७७ लाख २३ हजार ३३३ रुपैयाँ ३० पैसामा निर्माण ठेक्का लागेको नगरले जनाएको छ । अर्जुनधारा १ को साईमन नुमा शेर्पा जे.भि. कम्पनीले २०८१ बैशाख १६ गते निर्माण जिम्मा लिएर २०८१ पुस १५ गतेसम्ममा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरि ठेक्का लागेको छ ।  निर्माण ब्यवसायी बिजय सेन्दाङले आफु स्थानीय भएकाले सकेसम्म समयमै निर्माण सम्पन्न गर्ने गरी कार्य गर्ने बताएका छन् ।