झापा ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभाको मिति पुनः सरेको छ । वैशाख २८ गते नयाँ नेतृत्व चयन गर्न साधारण सभासहितको निर्वाचन तोकिएकोमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था एशोसिएसनले आगामी जेठ ५ गतेका लागि नयाँ मिति तय गरेको महासचिव कमल काफ्लेले जानकारी दिएका छन्।
एशोसिएसनले यसअघि वैशाख १५ गते हुने गरी पहिलोपटक मिति तोकेको थियो । वैशाख १५ गते इलाम र बझाङमा प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचन हुने भएपछि वैशाख २८ गते सारिएको थियो ।
वैशाख २८ गते हुने भनिएको निर्वाचनका लागि नेतृत्वका आकांक्षी व्यवसायीहरु आन्तरिक रुपमा तयारीमा लागेका थिए । एशोसिएसनका महासचिव काफ्लेले साधारण सभा भव्यरुपमा सम्पन गर्ने तयारीअनुसार प्रमुख अतिथिका रुपमा आमन्त्रित पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको समय नमिलेका कारणले साधारण सभा र निर्वाचनको मिति सारिएको जानकारी दिएका छन् ।
महासचिव काफ्लेले जेठ ५ मा तोकिएको मिति कुनैपनि हालतमा नसर्ने दाबी गरेका छन्। पार्टीको निर्णयअनुसार नै मिति सारिएको बताइएको छ ।