बिर्तामोड  । 

नेपाल पत्रकार महासंघ झापा शाखाले  १४ औं अधिवेशनको अवसरमा शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित शब्दपत्र डटकमका सम्पादक उद्धव पुरीलाई सम्मान गरेको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार पुरीलाई महासंघ झापाद्धारा पहिलोपटक स्थापना गरेको ‘अनलाइन पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको हो । उक्त पुरस्कारको राशी नगद ११ हजार रुपैयाँ रहेको छ । महासंघ झापाले सोही अवसरमा अग्रज पत्रकारहरुलाई नगदसहित गरेको छ ।

झापा शाखाले बिगतदेखि नै बितरण गर्दै आएको नेपाली पत्रकारिताका जन्मदाता मोतिराम भट्टको स्मृतिका स्थापित मोतिराम पत्रकारिता पुरस्कार यस वर्ष दुई जना पत्रकारहरुलाई संयुक्त रुपमा प्रदान गरेको छ । रु एक लाख १ हजार एक सय ११ रुपैयाँ सहितको उक्त पुरस्कार प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै पत्रकारिताको व्यवसायिकतामा मर्यादा बढाउन योगदान दिएको भन्दै दुई पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुँमागाईलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

त्यस्तै पूर्वका जेठो पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापित केटो पत्रकारिता पुरस्कार पूर्बाञ्चल डटकम अनलाइन संयोजक नरेन्द्र ढकाललाई नगद २५ हजार पाँच सय ५५ रुपैयाँ र सम्मान पत्र प्रदान गरियो । यसैवर्षदेखि नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रदान गरिने गरी स्थापना भएको हेम सरिता फाउण्डेशन टेक्सास अमेरिकाले संयोजन गरेको ‘टंक प्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ भद्रपुर निवासी पत्रकार राजवावु शंकरलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित प्रदान गरएको थियो । 

हेम सरिता फाण्डेशन अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाले गरेको सम्झौता बमोजिम फाउण्डेशनका संस्थापक हेम पाठक र सरिता पाठकले पिता टंकप्रसाद पाठक र माता रमादेबी पाठकको स्मृतिका प्रत्येक बर्ष प्रदान गरिने गरी रु ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । उक्त कोषको ब्याजबाट भष्ट्रचार बिरुद्ध तथा सुशासन प्रर्वधनका लागि पत्रकारिता मार्फत महत्वपूर्ण योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने फाण्डेशनको उदेश्य रहेको छ ।  

त्यसैगरी अधिवेशनमा २५ हजार राशीसहितको लैङ्गिक  समानता पत्रकारिता पुरस्कार २०७९ रेजिना गौतमलाई र लीला अनमोललाई २०८० को पुरस्कार  प्रदान गरिएको थियो । बिर्तामोड १ निवासी छोरा विपिन (विशेश्वर) र बुहारी बिनिता बजगाई (होमकला) द्धारा आफ्ना मातापिता मनमाया र केदार बजगाईको स्मृतिमा महासंघमा २ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेका थिए । लैङ्गिक समानता हासिल गर्न समाजलाई अचिप्रेरणा दिने, समतामुलक समाज निर्माणमा भुमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशादी समाचार प्रकाशन तथा प्रशारण गर्ने एक जनालाई प्रत्येक बर्ष प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको हो ।

त्यसैगरी यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । पत्रकार महासंघ झापाले यसैबर्षदेखि सञ्चार क्षेत्रका बिबिध बिद्यालाई समेटेर समाज रुपान्तरणमा योगदान दिने पत्रकारहरुलाई जनही ११ हजार नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

बिबिध बिद्या अन्तरगत अनलाइन पत्रकारिता पुरस्कार शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी प्रदान गरिएको छ । त्यस्तै छापा पत्रकारिता पुरस्कार मेची साप्ताहिकका सम्पादक झुलन रेग्मीलाई प्रदान गरियो । त्यस्तै टेलिभिजन पत्रकारिता पुरस्कर हिमशिखरका सुदिप अधिकारीलाई र रेडियो पत्रकारिता पुरस्कार रेडियो भिजनका पुष्प बराललाई प्रदान गरियो । सोही अवसरमा उदीयमान पत्रकारिता पुरस्कार आँगन एफएमका चन्द्र बस्नेत र प्रकाश पौडेललाई प्रदान गरियो । उक्त पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अधिवेशनकै अवसरमा ११ जना अग्रज पत्रकारहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । सम्मानीत हुने हरुमा नकुलकाजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, सिरोसान्दाई, लीला बराल, लेखनाथ पदरेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाल छन् ।

कार्यक्रममा मेची महाकाली पहिलो साइकल यात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामूख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा,  नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी,  लगायतले सम्मान एवम् पुरस्कार वितरण गरेका थिए । पत्रकार महासंघका सस्थापक महासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्तिहरुको नाम घोषणा गरेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।