झापा ।  

अबिरल बर्षाका कारण दुबई अन्तर्राष्ट्रिय विमान स्थलको धावन मार्गमा बाढी आएपछि दुबई विमानस्थल अस्तव्यस्त बनेको छ । यूएईमा मंगलबार भएको रेकर्ड वर्षापछि विमानस्थल धावन मार्गमा बाढी आएको थियो। यूएईमा मंगलबार ११० मिलिमिटर वर्षा भएको थियो ।  जुन ७५ वर्षयताकै उच्च भएको बताइएको छ । 

बाढी आएर सेवाहरू अवरुद्ध हुँदा वैदेशिक रोजगारीमा गएका सयौं नेपालीहरू पनि प्रभावित बनेका छन् । बाढीबाट यातायात प्रभावित भएपछि उनीहरु रोजगार स्थलमा जान नसकी विमान स्थलमा रोकिएका हुन् । विमानस्थल अधिकारीले छिट्टै विमान अवतरण तथा अन्य ह्याण्डलिङको काम हुन सक्ने बताएका छन् ।

विश्वका ठूला विमानस्थल अन्तर्गत पर्ने दुबई विमानस्थलले यात्रुहरूलाई उनीहरूको उडानको बारेमा नयाँ जानकारीका लागि सिधै आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ । धेरै एयरलाइन्सहरू मंगलबार र बुधबार उडानहरू रद्द गर्न र पुनः तालिका बनाउन बाध्य भएको बताइएको छ । दुबई विमान स्थलले यात्रुहरूलाई एयरपोर्टमा आउनु अघि उनीहरूको उडानको स्थितिको बारेमा जानकारी लिन पटक–पटक भनिरहेको छ ।

बाढीका कारणले आवागमनमा कठिनाइ भएपछि आगामी शुक्रबारसम्म घरबाटै काम गर्न सरकारी कर्मचारीलाई निर्देशन दिइएको छ भने बाढीले बगाएका १ सय ५० बढीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।