झापा । 

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान श्रीरामको पूजा आराधना गरेर आज रामनवमी पर्व मनाउँदैछन् । प्रत्येक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरेर पूजा आराधना  गर्ने गरिन्छ । 

त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालु जनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा पनि रहि आएको छ । रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो हुने गर्छ ।

रामचन्द्र भगवानको जन्मदिन भएकाले रामनवमी पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व मानिदै आएको छ । मिथिला क्षेत्रमा रामनवमी पर्वको अझै बढी महत्व रहने गर्छ भने पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्न सकिने धार्मिक विश्वास छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।