झापा । 

सहयोगी मनहरु नेपालले झापा र मोरङका विभिन्न स्थानका बिपन्न ४४ परिवारलाई आइतबार झुल बितरण गरेको छ । अपाङ्ग–असाहय, अनाथ, दृष्टिबिहिन तथा उपचार अभावमा रहेकाहरुलाई आर्थिक तथा परोपकारीको रुपमा सहयोग पुर्याउदै आएको संस्थाले एकैदिन ४४ परिवारलाई झुल बितरण गरेको हो ।

संस्थाका सदस्यबाट स्वेच्छिक रुपमा संकलन गरिएको आर्थिक सहयोगले बिपन्न सहयोग कार्यक्रम अन्तरगत निःशुल्क झुल बितरण गर्न सुरु गरिएको संस्थाका सचिब बिष्णु उप्रेतीले जानकारी दिए । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट डेङ्गुका बिरामी बढेसँगै त्यसबाट बच्न संस्थाले एकै दिन चुट्टाछुट्टै ठाँउमा बिपन्न परिवारलाई झुल बितरण गरेको हो । आफ्ना सदस्यले स्थानीय बिपन्न परिवारको लगत संकलनको आधारमा झुल बितरण गरेको आयोजकले बताएको छ ।

झापाको मेचीनगर–९ खुट्टीडाँगीस्थित सत्यनारायण मन्दिर परिसरमा स्थानीय अतिबिपन्न ३० परिवालाई झुल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ र प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्रको संयोजक संगीता थापा तथा संस्थाकी सदस्य प्रतीक्षा पराजुलीले संयुक्त रुपमा बिपन्नलाई झुल बितरण गरेका थिए ।

संस्थाका उपाध्यक्ष सुमनराज रिमालको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी युवराज कटुवाल लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी मोरङ जिल्लाको पथरी शनिश्चरेमा १४ परिवारलाई २० थान झुल बितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि वडाप्रतिनिधि अम्बिका लिम्बुले बिपन्न परिवारलाई झुल बितरण गरेका थिइन् । भीमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न झुल बितरणमा खेम ढुङ्गेल, नेत्रप्रसाद घिमिरे अनिता श्रेष्ठले सहजीकरण गरेका थिए । सविन रिमालले औचित्यमाथि प्रकाश कार्यक्रमको संचालन दिपेश खनालले गरेका थिए ।

कोभिड–१९ र त्यसपछि विभिन्न रुपमा समस्यामा परेका समुदाय र परिवारलाई सहयोग पुर्याउदै आएको संस्थाले २०७६ सालमा संस्थापन प्रक्रिया पूरा गरिसकेको सचिब उप्रेतीको भनाई छ ।