सुरुङ्गा । 

जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको आसन्न निर्वाचनको तयारीलाई तिब्र बनाइएको छ । झापाको कनकाई नगरपालिका २ र १ मा रहेको सामुदायिक बनको कार्यसमिति निर्वाचन सम्बन्धी कार्यलाई निर्वाचन समितिले तिब्र पारेको हो । 

निर्वाचन समितिले शुक्रवार (आज) सामुदायिक बनको कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी बैशाख ६ गते हुने निर्वाचन कार्यक्रम सम्बन्धी जानकारी दिएको हो । 

सामुदायिक बनको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिका संयोजक ददिराम पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । मतदान गर्न कोही पनि उपभोक्ता तथा मतदाता बन्चित नहुन भनेर निर्वाचन समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेर निर्वाचनलाई सुरक्षित र ब्यवस्थित बनाएको संयोजक पोखरेलले बताएका छन् । 

ban nirwachan

बैशाख ४ गते राती १२ बजेदेखि चुनाव प्रचारप्रसार मौन अवधि रहने, ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतदान समय ३ बजेसम्म रहेपनि मतदान केन्द्रमा प्रवेश गरेका सवैलाई मतदान गर्न दिइने, सोही दिन साँझ ७ बजेदेखि मतगणना शुरु हुने निर्वाचन समितिको कार्यतालिका रहेको निर्वाचन समिति संयोजक पोखरेलले बताए । उनका अनुसार मतदान गर्न आउने उपभोक्ताले अनिवार्य रुपमा मतदाता परिचय पत्र लिएर आउनु पर्नेछ । मतदान गर्न बन समुहले जारी गरेको कार्डमा नाम भएका २ जना मध्ये एकले मतदान गर्न पाउने संयोजक पोखरेलले बताए ।  

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिका लागि निर्वाचन हुन लागेको समितिमा ६ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका भएपनि आधिकारिक घोषणा हुन भने बाँकि रहेको निर्वाचन समितिका सचिव इन्द्र पुलामी मगरले जानकारी दिए । उनका अनुसार अन्य पदका लागि भने बैशाख ६ गते निर्वाचन हुनेछ । 

पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका सदस्य भुवन खतिवडा, गीता अधिकारी र बिनिता श्रेष्ठको पनि उपस्थिति रहेको थियो । बैशाख ६ गते हुने बन समुहको निर्वाचनमा तीन वटा प्यानलले उम्मेद्वारी दिएका छन् । पर्शुराम गिरीको नेतृत्व, सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहाराको नेत्तुत्वमा प्यानल खडा गरी उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।