सुरुङ्गा ।

मुस्लिम समुदायले इद उल फित्र झापाको कनकाई नगरस्थित सुरुङ्गामा हर्षोल्लासका साथ मनाएको छ । उनीहरूले एक आपसमा शुभकामना आदान–प्रदान साथै  खुसी साटासाट गरी पर्व मनाएका हुन्। इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरान अवतरण भएको महिना रमजान रोजा सकिएपछि मनाइने पर्व हो।

आत्म संयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा व्रत सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ। खुसीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो।

यसैबीच पर्वको अवसरमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरुले मनाउने आ–आफ्नो पर्व उत्तिकै महत्त्वपूर्ण हुने बताए ।

उनले हरेक समुदायले आफ्नो कला संस्कृति बचाई राख्न साथै सवै धर्म, संस्कतिबिच भाइचारको सम्वन्ध स्थापीत गर्न पनि पर्व मनाउन आवश्यक रहेको बताउँदै यस्ता पर्वहरुले थप सद्भाव बढ्दै जाने विश्वास व्यक्त गरे । सरकारले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इदको अवसरमा आज बिहीबारका दिन देशभर सार्वजनिक बिदासमेत  दिएको छ।