झापा । 

बैदेशिक रोजगारका लागि बिदेश जानेलाई अव एक घण्टामै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकले एक घण्टाभित्रमा नै श्रम स्वीकृति पाउने सुनिश्चितता गरिएको बताएका छन् ।  ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले बिद्युतको आपूर्ति र इन्टरनेटको स्पिड जस्ता प्राविधिक समस्यालाई ध्यानमा राखेर कागजपत्र पुगेको अवस्थामा एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने प्रबन्ध मिलाइएको बताका हुन् । 

 श्रम स्वीकृतिका लागि श्रमिकले मुख्यगरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस, श्रमिकले बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्ने व्यवस्था छ । 

मन्त्री अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको भन्दै नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताए । मन्त्री अर्यालले छिटोभन्दा छिटो श्रम स्वीकृति दिने कामलाई व्यवस्थित बनाउन कर्मचारीहरूको अथक मिहिनेत लागेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन कर्मचारीले उत्तिकै मिहिनेत गर्नुपर्ने बताएका छन्। हाल दैनिक औसत १ हजार ६ सय जनालाई श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।

वैदेशिक रोजगारमा जानेले आफ्नै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिए श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्ने र यसका लागि कुनै शुल्क पनि नलाग्ने, श्रमिकले कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । आवेदन दिने सबै प्रक्रियाको जानकारी विभागको वेबसाइटमा राखिएको बताएका छन् । 

कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेर जिम्मेवारी दिएको छ । काठमाडौं कार्यालय ताहाचलबाहेक ६ वटा प्रदेशबाट पनि नयाँ कम्तिमा ५० वटा र पुनः श्रम स्वीकृतिका लागि एक सय वटा टोकनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । पहिले कार्यालयले चाहेजति मात्र टोकन पाउने व्यवस्था थियो ।