हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ५ ले महिलाहरुका लागि प्रदान गरेको एक महिने शीपमुलक तालिम सिलाई कटाई सम्पन्न गरेको छ । 

गत फागुन १५ गतेदेखि सञ्चालन गरेको सिलाई कटिङ तालिम आइतवार वडा कार्यालयमा एक समारोहका बिच सम्पन्न गरेको हो । कार्यक्रममा तालिममा सहभागी १५ जनालाई हल्दीबारी–५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि खड्गबहादुर लावतीले प्रमाणपत्रसमेत वितरण गरेको वडा सचिव भजन संग्रौलालले जानकारी दिए । 

वडा नम्बर ५ को १५ औं गाउँसभाबाट पारित वडाको योजना तथा कार्यक्रम अन्तरगत महिलाहरुलाई शीप सिकाउने उदेश्यले तालिमको आयोजना गरिएको वडा सचिव संग्रौलालले बताए । 

वडा सदस्य सुश्मा मोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष खड्गबहादुर लावतीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा कार्यक्रमको सञ्चालन वडासचिव भजन संग्रौलालले गरेको कार्यक्रममा नृत्यकार विशाल ठटालले नृत्यसमेत प्रस्तुत गरेका थिए । तालिममा सहभागी महिलाहरुलाई प्रशिक्षक जुना घतानीले प्रशिक्षण दिएकी थिइन् ।