झापा । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाउने बहानामा दर्जनौं व्यक्तिको ६ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्क बिहीन भएका झापाको कमल गाउँपालिका ७ घर भइ हाल काठमाडौं कागेश्वरी मनोहरा बस्दै आएका ३७ वर्षीय केदार चौधरीलाई उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

चौधरीले सुमन राईसमेत ३५ जनालाई वैदेशिक रोजगारका लागि बेलायत पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि २० लाख रूपैयाँ उठाइ भारतका विभिन्न स्थानमा पुर्‍याउने र नेपाल फर्काउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनले एक्सपर्ट कन्सल्ट्यान्सी खोलेर कतिपयलाई अजरबैजानसम्म पुर्‍याइ रकम असुली गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।