सुरुङ्गा । 

नेपालमै पहिलो पटक झापाको कनकाई नगरपालिकाले ‘कता हो ?’ नामक एप्स अभियान शुरु गरेको छ । कनकाई नगरपालिकाले देशमै पहिलो पटक ‘कता हो’ भन्ने अभियान अन्तरगत उक्त एप्स प्रयोग शुरु गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका हुन् ।  

कता हो एप्स प्रयोगको मुख्य उदेश्य कुनैपनि ब्यक्तिको ठेगाना पत्ता लगाउने भएको नगरले जानकारी दिएको छ । साथै सो एप्सको प्रयोगबाट कुनैपनि आपत बिपतमा प्रहरी प्रशासन, एम्बुलेन्स, दमकल जस्ता अतिआवश्यक सेवालाई समेत खवर गर्न सकिने नगर प्रमुख पोखरेलले बताए । उनका अनुसार हाल कनकाई ७ मा कता हो एप्सको अभियान शुरु गरिएको छ । 

 ‘कता हो ?’ भन्ने एप्लिकेशन एप्स प्रयोगमा ल्याउने देशकै पहिलो नगरपालिका कनकाई नगर भएको नगर प्रमुख पोखरेलले दाबी गरेका छन् । कुनैपनि ब्यक्तिलाई ‘कता हो ?’ एप्सको प्रयोगबाट ठेगाना पत्ता लागउन सहज हुने र आगामी दिनमा  कुनैपनि आपतबिपतमा प्रहरी, प्रशासन, दमकल, एम्बुलेन्स जस्ता अतिआवश्यक सेवालगायतलाई खवर गर्न सहज हुने नगरको उदेश्य रहेको छ । 

rajendra pokharel

त्यस्तै शब्दपत्र डटकम अनलाइनसँग कुरा गर्दै नगर प्रमुख पोखरेलले यस आर्थिक बर्षमा आर्थिक मन्दीका कारण बिकास योजनामा प्रभाव परेको बताएका छन् । ‘आर्थिक बर्ष २०७७/०७८ मा कनकाई नगरले ८४ करोडको बजेट बिनियोजन गरेको थियो’ नगर प्रमुख पोखरेलले भने ‘यस चालु आर्थिक बर्षमा ६४ करोडमा खुम्चिएको छ ।’ त्यसमा पनि राजश्व वाडफाँडमा ३/४ करोड कम हुने र समानीकरणको अनुदानसमेत कम हुने कुरा आएको उनले बताए । उनले त्यस कारण पनि बिकास योजना र अगाडी लिएका उदेश्यलाई प्रभाव पार्ने अवस्था रहेको बताए । 

आर्थिक समस्याकै कारण अघिल्ला बर्षहरुमा ८४ करोडको काम गरेको नगरले यस बर्ष ६० करोडको पनि काम गर्ने अवस्था देखिदैन । ‘नगर भित्र घर नहुनेलाई ५ बर्षभित्र घर बनाउने उदेश्य थियो’ नगर प्रमुख पोखरेलले भने ‘तर बजेट अभावमा अघिल्ला बर्षहरुमा काम गर्न सकिएन, यो बर्ष पनि १८/१९ वटा भन्दा माथि घर बनाउने अवस्था छैन ।’ आर्थिक मन्दीसँगै बजेटमा कटौती भएपछि नगरले लिएको लक्ष्यसमेत प्रभावित भएको नगर प्रमुख पोखरेलको भनाई छ । 

त्यस्तै गौरवका आयोजना अन्तरगत फोहोरमैला ब्यवस्थापनका लागि कुहिने फोहोरबाट ग्यास उत्पादनको कार्य भइरहेको उनले बताए । त्यसलाई ब्यवस्थित तरिकाले बितरणमा सुनौती देखिएको उनको भनाई छ । प्याष्ट्रिकबाट पेवर्स बनाउने कार्यसमेत शुरु गरिएको बताइएको छ । 

त्यसैगरी तरकारी बजारलाई ब्यवस्थापन भइरहेको छ । आर्थिक स्रोतको अभाव कानुनी तथा ऐनका हिसावले काम गर्नु पर्ने भएकाले जटिलताका कारण पनि  गर्न नसकिरहेको भएपनि फोहोरमैला र कृषि बजार ब्यवस्थापनमा लक्ष्य हासिल गर्ने उनले बताए । 

आर्थिक अभावकै कारण पर्यटन प्रवर्धनमा अझैपनि नगरले सोचेजती सफलता हासिल गर्न नसकेको नगर प्रमुख पोखरेलले गुनासो गरे । सुर्तीजन्य पदार्थ बिक्री बितरण र सेवन प्रतिवन्ध अभियान चेतनाको कमीकै कारण पनि पूर्ण रुपले प्रतिवन्ध हुन नसकेको बताउँदै नगर प्रमुख पोखरेलले खुल्ला सिमाना र अन्य पालिकामा प्रयोग गर्न पाउनु भएको बताए । उनले सुर्तीजन्य पदार्थ प्रतिवन्धमा धेरैको साथ र सहयोग रहेको बताउँदै प्रयोगकर्ता आफैमा बिस्तारै चेतना जागेर आउनेमा आशाबादी रहेको बताए ।  उनले नगरले बिकास योजना बनाइरहेको बताउँदै आर्थिक मन्दीका कारण सोचेजती सफलता नमिल्ने बताएका छन् ।