लक्ष्मीपुर । 

लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको कनकाई र अर्जुनधारामा कार्यालय रहेको संस्थाले शनिवार (आज) अर्जुनधारा ५ स्थित बिहीबारे बजारमा साधारणसभा गरेको हो । 

संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्याक्रममा कोशी प्रदेश सांसद चिन्तन पाठक (त्रिलोचन) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य हेमकुमारी चौधरीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशवप्रसाद ओझाले गरेका थिए । 

कनकाई ८ र ९, अर्जुनधारा ५ साविक ६ साथै बिर्तामोडकोसमेतका केही क्षेत्रलाई शुद्ध खानेपानी बितरण गर्ने उदेश्यले स्थापना भएको संस्थामा हाल ७८१ वटा धारा जडान गरिएको अध्यक्ष कटुवालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गत बर्षको साधारणसभा उठेका प्रश्न र सुझावको आधारमा ७७ वटा धारा ५० प्रतिशत छुटमा जडान गरिएको अध्यक्ष कटुवालले जानकारी दिए । खानेपानी संस्थाले आगामी बर्षदेखि एसएमएस सेवा सञ्चालन गरेर प्रत्येक उपभोक्तालाई सूचना प्रवाह गर्ने समेत भएको छ ।

संस्थाले १० हजार लिटरसम्मको पानीको महसुल १५० रुपैयाँ लिने गरेको सदस्य बुद्धिसागर कट्टेलले जानकारी दिए । उनका अनुसार हाल नयाँ सदस्यलाई १० हजार रुपैयाँमा धारा जडान गरिदै आएको छ भने पुराना सदस्यलाई जम्मा भएको रकमबाट घटाएर जडान गरिने गरेको छ । संस्थामा हाल एक हजार एकसय ३५ जना उपभोक्ता रहेको कट्टेलले बताए । 

laxmipur khane pani

आर्थिक बर्ष २०७९/८० मा बिभिन्न शिर्षकमा ९१ लाख ५५ हजार ८५ रुपैयाँ ९४ पैसा आम्दानी गरेको संस्थाले राष्टिय बाणिज्य बैंक बिर्तामोडमा ६ लाख ६७ हजार ७६ रुपैयाँ बागेडाँगी त्रिबेणी सहकारीमा १३ लाख २९ हजार ३२५ रुपैयाँ बचत रहेको छ भने अन्य बिभिन्न शिर्षकमा खर्च भएको साधारणसभामा प्रस्तुत लेखा प्रतिवेदनमा उल्लेख छ । लेखा प्रतिवेदन संस्थाका सदस्य नारायण काफ्लेले प्रस्तुत गरेका थिए । 

त्यस्तै संस्थाले केन्द्रिय र प्रदेश सरकारबाट अनुदानबापत १ करोड ६० लाख माग गर्ने, आन्तरिक उपभोक्ता तथा महसुलबाट १९ लाख ३० हजार र सडक कालोपत्रे अन्तरगत कनकाई र अर्जुनधारा नगरबाट १ करोड माग गर्ने प्रस्ताव साधारणसभामा पेश गरेका थियो । संस्थाले आगामी बर्षदेखि धारा जडान गर्नेलाई मात्र उपभोक्ता मानेर उपभोक्ता कार्डसमेत बितरण गर्ने प्रस्ताव समेत पेश गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले शुद्ध खानेपानी अति आवश्यक भएकाले प्रदेश सांसद भएका नाताले खानेपानी सुधारमा सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

त्यस्तै अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्का (हरि) ले अति बिपन्न ५० घरपरिवार पहिचान गरी निःशुल्क खानेपानीको धारा जडान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।  कार्यक्रममा जग्गादाताका तर्फबाट छबिलाल लम्साल, हस्त–पद्मा  खानेपानी घैलाडुब्वाका उपाध्यक्ष गोबिन्द श्रेष्ठ, उपभोक्ताहरुका तर्फबाट देवराज बुढाथकीलगायतले आ–आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा संस्थाका लागि जग्गा प्रदान गर्ने तेजकुमार गिरी, चुडामणि आचार्य, कनकाई ८ का र अर्जुनधारा ५ का कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, बिभिन्न सामाजिक ब्यक्तित्व, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । संस्थामा कार्यालय सहायक अनिता खड्का र सहायक प्राबिधिक खगेन्द्र खड्का कर्मचारीका रुपमा कार्यरत रहेका छन् ।