झापा ।

झापामा बेकरी उद्योग संकटमा रहेको व्यवसायीहरुले बताएका छन् । झापाको भद्रपुर–७ मा शुक्रबार  भएको बेकरी उद्योग व्यवसायी संघ झापाको चौथो साधारणसभा व्यवसायीहरुले त्यस्तो गुनासो गरेका हुन् । साधारणसभामा व्यवसायीहरुले झापामा खुला सीमाका कारण सस्तो भारतीय उत्पादन नेपाली बजारमा छ्याप्छ्याप्ती पाइने, विभिन्न कारणले नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतस्पिर्धा गर्न नसकेकोले झापाका बेकरी उद्योग संकटमा रहेको बताएका थिए ।

साधारणसभाको अध्यक्षता गरिरहेका संघका अध्यक्ष नरबहादुर गिरीले आफ्नो  भनाई राख्दै झापामा बेकरी उद्योग निकै अप्ठ्यारोमा रहेको भन्दै तीनै तहका सरकारले यो उद्योगको संरक्षणका लागि योजनाहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा प्रेमप्रकाश सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । उनले संघीय र प्रदेश सरकारको नीति अनुरुप बेकरी उद्योगी व्यवसायीको समस्या समधान गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।  कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमली, नव दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद पोखरेललगायतले आ–आफ्नो भनाई राखेका थिए । 

साधारणसभामा संघका उपाध्यक्ष दिनेश अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत थिए । संघले २०७९ सालदेखि गरेका गतिविधि, बेकरी व्यवसायमा देखा परेका चुनौती र संघको भावी रणनीतिका बारेमा जानकारी गराएका थिए । स्वागत सदस्य सन्देश पौडेलले गरेको कार्यक्रमको सञ्चालन सदस्य भीमा शिवाकोटीले गरेकी थिइन् ।

साधारणसभासँगै भएको दोस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लािग सुमन चिमरियाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित संघको उपाध्यक्षमा रमेशकुमार राजवंशी, सचिवमा दिनेश अधिकारी, कोषाध्यक्षमा नेत्र सोनी तथा सदस्यमा सागर दाहाल, राजु ढकाल, सन्देश पौडेल, कल्पना राजवंशी र गणेश घोष चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले दुईजना सदस्य मनोनयन गर्ने जनाइएको छ ।