बिर्तामोड । 

मनोक्रान्ति साधक तिलक लिम्बूले ७ दिने भू तपस्या गर्ने भएका छन् । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा लिम्बूले चैत्र १७ गतेदेखि जमिन मुनी बसेर भू–तपस्या गर्ने भएका हुन्  । झापा कमल गाउँपालिका ७ का लिम्बू फक्ताङलुङ बिद्यालयमा योग प्रशिक्षकको रुपमा कार्यरत छन् । उनले  स्कुलको खुला मैदानमा भू–तपस्या गर्ने  जानकारी दिएका हुन् । 

विकासानन्द फाउण्डेसन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बूले नीराहार भू–तपस्या गर्ने बताइएको छ । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसमा पुर्याउने उद्देश्यले भू–तपस्या गर्न लागेको साधक लिम्बूले बताए  ।

९ फिट गहिरो ९–९ फिट लम्बाइ र चौडाइको खाडलमा पुरिएर भू–तपस्या गरिने बताइएको छ । लिम्बूलाई भू–तपस्या बस्नको विकासानन्द फाउण्डेसनले सहजीकरण गरिरहेको मनोक्रान्ति प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिए  । भू तपस्वी लिम्बुलाई मनोक्रान्ति गुरु डा. योगी विकासानन्दले जुस खुवाए पछि भू–तपस्या सम्पन्न हुने बताइएको छ ।