झापा ।

 मलेशियामा मागपत्र प्रमाणीकरण नहुँदा नेपाली कामदारको रोजगारी गुम्ने भएको छ । नेपाली कामदारका लागि प्रमुख गन्तव्य मानिने मलेशियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको कार्य रोकेको छ ।

मलेशियाको अध्यागमन विभागको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना अनुसार विभागले ३१ मार्च २०२४ देखि विदेशी कामदारलाई कलिङ भिसा जारी नगर्ने जनाएको छ । मलेशिया सरकारले आगामी मे ३१ तारिकभित्र एप्रुभल भइसकेका डिमाण्डमा विदेशी कामदार ल्याइसक्नु पर्ने जनाएको छ ।

नेपाली दूतावासले गत शुक्रबार एक सूचना जारी गर्दै सुरक्षागार्ड बाहेकका अन्य मागपत्र प्रमाणीकरण स्थगित गरिएको जनाएको छ । दूतावासमा २२ मार्च अघि नै प्रमाणिकरणका लागि पेश भएका थुप्रै  फाईलहरूका प्रमाणीकरण रोकिएका कारणले त्यस्ता फाइलहरूको चाङ नै लागेको जनाइएको । नेपाली म्यानपावर कम्पनीमध्ये आधा भन्दाबढी मलेशियामा निर्भर रहेका छन् ।