हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकामा प्रदेश प्रशिक्षण तथा अनुसन्धान परिषदको आयोजनामा तीन दिने नागरिक अपङ्गता तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

हल्दीबारी गाउँपालिकालाई २०८१ पौष मसान्तसम्म बालमैत्री बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हो । प्रदेशको कार्यक्रम अन्तरगत गाउँपालिकालाई बालमैत्री बनाउन पालिकाले ध्यान दिइरहेकोले सो कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रशिक्षण बालमैत्री अभियन्ता सुमन ढकालले प्रदान गरेका थिए । 

कार्यक्रममा हल्दिबारी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन गर्नुपर्ने पूर्व तयारी, तयारी कार्यक्रम तथा योजना छनौट, अनुगमन र बालमैत्री पालिका घोषणा गर्न चाहिने सूचक बारे उपस्थितिलाई प्रशिक्षण दिइएको थियो । गाउँपालिकामा बालमैत्री गाउँपालिका बनाउन के गर्ने भन्ने विषयमा सबै अन्योल परिरहेको बेला यो कार्यक्रम आएकोमा सबै हर्षित रहेको कार्यक्रममा सहभागीहरु जानकारी दिए । 

हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र बाल सञ्जाल अध्यक्ष पवन गिरीको उपस्थितिरहेको थियो ।