झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुना चौकस्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइतेको मृत्यु भएको छ ।  बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल बुधवार (आज) ३ः२० बजेको समयमा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३३ बर्षिय धर्मेन्द्र सिंजाली मगरको टाउकोमा गम्भिर चोट लागेर बीएण्डसी अस्पताल  बिर्तामोड लगिएको थियो । घाइतको उपचार भइरहेको अवस्थामा ३ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सोहि मोटरसाइकल पछाडि सवार ईलाम रोङ गाउँपालिकाका–१ का ३४ बर्षिय कैलाश राईको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको थियो । उनको पनि अवस्था गम्भिर रहेको र अस्पतालामा उपचार भइरहेको  प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।