विराटनगर । 

झापा, इलाम र मोरङको छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागू औषध ब्राउन सुगर र प्रदेश नं. १–००२–०४४प ३८१ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामको प्रहरी टोलीले  मंगलबार इलामको इलाम नगरपालिका–७ टुडिखेलबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोलीले  मंगलबार झापाको बाह्रदशी गाउँपालिका–२ बिरिङ पुलबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापाको झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकल पछाडी सवार २६ बर्षीय मो. हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । 

इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–१ का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो । लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।