हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) को पहलमा खानेपानी मन्त्रालयले एउटा सवारी साधन उपलब्ध गराएको छ ।  सवारी साधन आएसँगै आवश्यक योजनाहरुको अनुगमन र पालिकाको अन्य काममा समेत सहजता आउने देखिएको छ ।

सवारीसाधनको अभावमा पालिकाको कामका लागि भाडामा सवारीसाधन लिनुपर्ने वाध्यता थियो । यसवाट भाडा वापत हुने फजुल खर्च न्युनतम र नियन्त्रण हुने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए ।

केही ब्यक्तिहरुले उक्त सवारीसाधन आएसँगै पालिकाले सवारी साधन खरिद गरेर रकम दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा बिरोध गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत महेन्द्रका अनुसार सवारी साधन खरिद गरेको भने हैन ।

करिब एक करोड ५० लाख मूल्य बराबरको टोयटाको हाइलेस गाडी मन्त्रालयले उपलब्ध गराएको महेन्द्रले बताए । साधारण मर्मत खर्च मात्र लाग्ने र सवारी साधन थपिएको पालिकाकै सम्पत्ती भएको उनले बताए ।  मन्त्रालयले उपलब्ध गराएको उक्त सवारी साधन मर्मतमा बजार हल्ला गरिए जस्तो नभएर अनुमानित ७ लाख रुपैयाँ खर्च हुने पालिकाले जनाएको छ ।  

हल्दीबारी गाउँपालिका स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यबिधि २०७७  अनुसार झापाका गाउँपालिका मध्ये प्रथम र १५ वटै स्थानीय तह मध्ये तेस्रो भएको छ । हल्दीबारीले स्थानीय तह संस्थागत लीसा अन्तरगत ६२.५ प्रतिशत र क्षमता स्वमूल्याङ्कनतर्फ एफआरए अन्तरगत ७२ प्रतिशत ल्याउन सफल भएको पालिकाले जनाएको छ । 

त्यसैगरी झापाका १५ वटा स्थानीयतह मध्ये हल्दीबारी गाउँपालिका स्वास्थ्य सम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा समेत प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापाका पालिकाहरुबाट आर्थिक बर्ष २०७९/०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दीबारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको पालिकाले जनाएको हो ।

हल्दीबारीले बेरजु न्युनिकरण गर्न समक्ष भएको छ । पालिकाले २ प्रतिशत भन्दा कम बेरुजु पुर्याउन सफल भएको समेत पालिकाले जनाएको छ ।