मोरङ । 

मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा भएको छ । आगलागीबाट एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न जलेर नष्ट भएको छ । 

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएको छैन । 

आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।