सुरुङ्गा । 

झापा गाउँपालिका वडा नम्बर ७ मा ‘मदरगाछ सांस्कृतिक तथा ब्यापार मेला २०८०’ आयोजनाको तयारी गरिएको छ । दीपज्योती युवा क्लव र जेएस फिल्म प्रोडक्शन प्रालि काठमाडौंको संयुक्त आयोजनामा आगामी फागुन २५ देखि चैत ६ गतेसम्म सांस्कृतिक तथा ब्यापार मेला आयोजना गर्न लागिएको हो । 

आयोजक संस्थाले मंगलबार (आज) मदरगाछ बजारमा पत्रकार सम्मेलन गरेर मेलाको तयारी बारे जानकारी दिएको छ । स्थानीय उत्पादनको प्रवर्धन र मदरगाछ बजारलाई चिनाउने उदेश्यले सांस्कृतिक तथा ब्यापार मेला आयोजना गर्न लागेको आयोजक संस्था दीपज्योति युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताएका छन् । 

क्लबका अध्यक्ष चुडालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा झापा गाउँपालिका–७ का वडाध्यक्ष सखीचन्द्र ठाकुरको प्रमुख आतिथ्य रहेको थियो ।  मेला आयोजना बारे औचित्यमाथि प्रकाश उद्योग बाणिज्य संघ झापा गाउँपालिकाका उपाध्यक्ष छत्रप्रसाद पाण्डेले पारेको कार्यक्रमको सञ्चालन क्लबका सचिव बासुदेव दाहालले गरेका थिए । 

मेलामा स्थानीय उत्पादनसहित ४० वटा स्टल रहने मेला आयोजक समितिका संयोजक तारवीर पाण्डेले जानकारी दिए । उनका अनुसार बालबालिकाका लागि मनोरजानत्मक सामाग्रीको समेत स्टलहरु रहनेछन् । 

सुरेश धिमाल अन्तरा वेण्ड र सिदान्त एण्ड दी वेण्डको संयोजनमा हुने मेलामा ज्योती मगर, राजशुक्र लिम्बु, प्रिति आले, कमल खत्री, शान्तिश्री परियार, श्रीनिवास, हिमाल सागर, एलिना चौहान, तारावीर पाण्डे, प्रिति पासवान, नन्दु गुरुङ, टिका प्रसाई, सुवास महत, फुलन्देको आमालगायतका गायक तथा कलाकारसहित स्थानीय कलाकारकोसमेत प्रस्तुती रहने संयोजक पाण्डेले बताए । प्रवेश शुल्क निःशुल्क रहेको उक्त मेलामा सांस्कृतिक कार्यक्रमको शुल्क एकसय रुपैयाँ लाग्ने उनले बताए । 

१० दिने उक्त मेलामा दैनिक एक हजार ५ सयदेखि २ हजार दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ । त्यस्तै मेलामा अनुमानित ११ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बजार ब्यवस्थापन समितिका सुवास डाँगी, जनकल्याण मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।