झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । बुट्टाबारी स्थित मानबहादुर लिम्बुको घरमा लागूऔषध ब्राउन सुगर कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोमवार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ घर बताउने २५ बर्षिया वविता गुरुङ, इलाम नगरपालिका वडा नं. २ घर बताउने २० बर्षिया पुर्णिमा गुरुङ र सोही घर धनि २१ बर्षिय मनिष लिम्बु छन् । 

चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर जम्मा १२ ग्राम ९५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर उनीहरुका साथमा भएका सामाग्रीसहित इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।