झापा ।

घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब ईमिरेट्स (यूएई) मा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्ने भएको हो । श्रम मन्त्रालयले घरेलु कामदार पठाउने तयारी गरेको हो ।

दुवै देशका अधिकारी बिचको छलफल अन्तिम चरणमा पुगेको छ । केही दिनमै यूएईमा घरेलु कामदारका रूपमा नेपालीलाई पठाउन थालिने श्रम मन्त्रालयले जनाएको छ । 

यूएईसँग सन् २०१९ मा घरेलु कामदार पठाउने सम्बन्धी सहमति भएको भएपनि नेपालले हालसम्म पठाउन सकेको थिएन । यूएईले घरेलु कामदार पठाउन नेपाललाई बारम्बार ताकेता गर्दै आएको थियो ।

नेपालमा २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लागेको थियो । संसदले नै सरकारलाई घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा पठाउन रोक लगाउन निर्देशन दिएको थियो । सोही आधारमा सरकारले घरेलु कामदारको रूपमा श्रमिक पठाउन रोक लगाएको थियो । यो बिचमा संसदीय समितिले कामदारको सुरक्षा प्रत्याभूति हुने गरी सम्झौता गरेर घरेलु कामदार पठाउन सकिने व्यवस्था गरेको थियो ।