झापा । 

मलेशिया सरकारले गैरकानूनी रुपमा कार्यरत आप्रवासी कामदार स्वदेश फिर्ती कार्यक्रम शुरु गर्ने भएको छ । घरफिर्ती कार्यक्रम यही मार्च १ तारिखदेखि डिसेम्बर अन्तिमसम्म १० महिना खुला गरिएको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

स्वदेश फर्किन सम्बन्धित देशको दूतावासबाट जारी भएको म्याद नसकिएको यात्रा अनुमतिपत्र वा म्याद नसकिएको पासपोर्ट, हवाई टिकट र अवैधानिक भएबापतको तिर्नुपर्ने जरिवाना रकमसहित कामदार स्वयंले नजिकैको अध्यागमन कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ ।

स्वदेश फर्कन चाहने व्यक्तिले अध्यागमनमा गएको मितिदेखि १४ दिन म्यादभित्रको हवाई टिकट, अवैधानिक बसेबापतको जरिवाना रकम तिर्नलाई अनिवार्य इन्टरनेट बैंकिङको प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

घरफिर्ती हुनलाई अवैधानिक कामदारले मलेसियन रिंगेट ३०० देखि ५०० सम्म जरिवाना तिर्नुपर्ने विभागले जनाएको छ । घरफिर्ती कार्यक्रम सुचारु भएसँगै अवैधानिक रुपमा मलेशियामा रहेका धेरै नेपाली कामदार लाभान्वित हुने भएका छन् ।