झापा । 

सरकारी स्तर अर्थात ‘जीटुजी’मार्फत इजरायलमा नेपाली कामदार पठाउनुपर्ने बाध्यता हटेको छ । इजरायलमा म्यानपावर कम्पनीमार्फत कृषि कामदार जाने क्रम शुरू भएसँगै उक्त बाध्यता हटेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमतिपछि काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रालिले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय पुरूषलाई कृषि कामदारमा पठाउन वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएको छ । उक्त कम्पनीका अनुसार नेपालबाट जाने कृषि कामदारले मासिक न्यूनतम २ लाख ८ सय ९० रूपैयाँ तलब पाउनेछन् ।

इजरायलले २ वर्षका लागि नेपाली कामदार लैजाने सार्वजनिक गरेको छ । कृषि कार्यका लागि इजरायल जाने कामदारले नेपालमा हुने प्रि मेडिकल, म्यादी जीवन बीमालगायतका खर्च आफैंले व्यहोर्नुपर्ने प्रावधान छ ।

इजरायल सरकारले युद्धका कारण आप्रवासी कामदार फिर्ता भएपछि त्यहाँको निजी क्षेत्रलाई ९० दिनभित्र विदेशी कामदार ल्याउन सहुलियत दिएपछि नेपाली म्यानपावर कम्पनीहरूले नीजी क्षेत्रबाट कामदार पठाउन पाउनुपर्ने माग उठाएका थिए ।

इजरायलको कृषि क्षेत्रमा विदेशी कामदार ल्याउन निजी क्षेत्रलाई अनुमति दिने निर्णयपछि भारत, श्रीलंका, थाइल्यान्ड र भियतनामले इजरायलमा कामदार पठाइरहेका छन् । नेपालमा पनि काठमाडौ ईण्टरनेशनल इन्कर्पोरेटले सरकारले मात्र इजरायल कामदार पठाउन पाउने प्रावधान तोड्न सफल भएको छ ।