चारआली । 

पूर्वी हिमाल यातायात प्रालि झापाले नेपालमा नै पहिलो पटक डनलप सोफा सीट भएको थप दुई वटा सुविधायुक्त मितेरी बस सञ्चालनमा ल्याएको छ ।

मंगलबार प्रालिले चारआली स्थित पर्यटकिय स्थल निचा झोडा सामुदायिक सिमसारमा वनभोजसहितको कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद एवम् यातायात क्षेत्रका अभियन्ता श्रीप्रसाद मैनालीले उक्त बसहरुको विधिवत रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासंघका विभागिय बस संयोजक सुनिल कुँवर, पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजाल लगायत काठमाडौँ, हेटौडा, मोरङ र झापाका यातायात व्यवसायी, कर्मचारी, मजदुरहरुको उपस्थिति रहेको थियो ।

यात्रुहरुको सुविधाका लागि उक्त बसहरु इलामबाट बिर्तामोड हुँदै सिन्धुलीको बाटोबाट काठमाडौँ पुग्ने  पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहालले जानकारी दिए । यात्रुको सेवालाई ध्यानमा राखेर नेपालमा नै पहिलो पटक मितेरीले डनलप सोफा सीट भएको २ वटा बस सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार यात्रुलाई आराम र सहजताका लागि बसमा २९ वटा डनलप भएको सोफा सीट, एसी, वाईफाई लगायतका अत्याधुनिक सुविधा रहेको छ ।

पूर्वी हिमाल र पूर्वाञ्चल जिप यातायात प्रालि चारआलीको संयुक्त सञ्चालनमा थप नयाँ १२ वटा बसमध्ये तत्काल २ वटा बस सञ्चालनमा ल्याइएको सञ्चालक बालकुमार विष्टले बताए । मेचीनगर–१३ को पर्यटकिय सिमसार स्थलमा मंगलबारदेखि विधिवत रुपमा पुजा गरेर बसहरु सञ्चालनमा ल्याएको सञ्चालक समेत रहेका अध्यक्ष दाहालले बताए । २०६२ सालमा स्थापित मितेरी यातायात एण्ड अटो प्रालिलाई पूर्वी हिमाल यातायात प्रालिमा समाहित गरिएको छ ।

प्रालिले यात्रुको सेवालाई ध्यानमा राखेर मितेरीका करिव ३५ वटा गाडीहरु झापादेखि देशका विभिन्न जिल्लामा सञ्चालन भइरहेको दाहालले जानकारी दिए ।