झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा सीपयुक्त कामदार पठाउने कार्यविधि सार्वजनिक गरेको छ । श्रम, रोजगार सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापानसँग सन् २०१९ को मार्चमा भएको मेमोरेण्डम अफ कोअपरेशन अन्तर्गत गत माघ २५ गते स्वीकृत गरेको कार्यविधि मन्त्रालयले सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यविधिअनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीअन्तर्गत नेपाली म्यानपावर कम्पनीहरुले रोजगारदाताहरुबाट सेवा शुल्क लिएर निःशुल्करुपमा कामदार पठाउनुपर्ने छ । नेपाली कामदारको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणका लागि जापानी पक्षलाई सहजीकरण गर्न वैदेशिक रोजगार विभागअन्तर्गत एउटा छुट्टै इकाइ रहने व्यवस्था छ ।

जापानले नेपालबाट कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ सेवा, सवारीसाधन मर्मत र सम्भार, निर्माण उद्योगसहित १४ विभिन्न क्षेत्रमा श्रमिक लैजाने जनाएको छ ।