बिर्तामोड ।
ब्यवसायीकोहरुको छाता संगठन बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन शुरु भएको छ । निर्वाचनमा बिर्तामोड क्षेत्रमा ब्यवसाय सञ्चालन गरेर संघको सदस्यता लिएकाले मतदान गर्न पाउनेछन् ।
बिहान ८ बजेबाट शुरु हुने मतदानको समयअवधि साँझ ५ बजेसम्म रहने निर्वाचन समितिले जनाएको छ । संघमा करिव ५ हजार ६ सय ब्यवसायी आवद्ध रहेका छन् । मतदान गर्न आउने ब्यवसायीले संघले जारी गरेको परिचयपत्रसहित नेपाल सरकारले जारी गरेको फोटोसहितको परिचय खुल्ने कुनैपनि कागजात लिएर जानु पर्नेछ । कारणबस संघले जारी गरेको परिचयपत्र नभए स्थायी लेखा नम्बर (पान) अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ ।
संघको निर्वाचनका लागि अर्जुनकुमार मैनालीको नेतृत्वको स्वतन्त्र ब्यवासायीक प्यानल र राजु न्यौपानेको नेतृत्वमा रहेको लोकतान्त्रिक ब्यवसायीक प्यानलबाट उम्मेद्वारी दिएका छन् । १९ पदका लागि एक स्वतन्त्रसहित ३९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।