बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महासचिव पदमा उम्मेद्वार बनेका कुशल खतिवडाले बिर्तामोड बजार क्षेत्रमा पूर्वाधार निर्माण गरी सुरक्षित तवरले रातको ९ बजेसम्म खुल्ला गर्न पहल गर्ने बताएका छन् ।  चुनावी अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सडकबत्ती, सिसि क्यामेरासहितका पूर्वाधारका काम अगाडी बढाएर बजार क्षेत्र रात्रीकालिन समयसम्म सञ्चालनमा ल्याउने बताएका हुन् । 

लोकतान्त्रिक ब्यवसायीक प्यानलबाट महासचिव पदमा उम्मेवारी दिएका खतिवडाले बैंकको ब्याजदर घटाउन पहल गर्ने र बैंक र ब्यवसायीबिचको सम्बन्ध सुधार गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।  उनी पछिल्लो समय बाणिज्य संघको चुनाव बढी खर्चिलो र भड्किलो भएको बताउँदै यसलाई नियन्त्रण र नियमन गर्न आफ्नो पहल रहेन बताउँछन् ।  

उनले यसअघि संघको निर्वाचनमा ब्यवसायीबाट लोकप्रिय मत ल्याउन सफल भएका थिए । उनले संघप्रति ब्यवसायीको आकर्षण घटिरहेको बताउँदै संघलाई ब्यापारीको अभिभावकीय संस्थाको रुपमा अघि लिएर जाने बताए । 

२०६४ सालबाट बिर्तामोडमा व्यवसाय शुरु गरेका खतिवडाले मार्वल टायल्सको ब्यापार गर्दै आएका छन्  । उनी कला, डिजाइन एण्ड इन्टेरियर सप्लायर्स र निरभाना कन्टक्शनका सञ्चालक हुन् ।   बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य र सचिव भएर व्यवसायीको पक्षमा काम गरिरहेका खतिवडा ब्यवसायीबिच लोकप्रिय मानिन्छन् । 

स्थानीय सरकारले लगाएको अबैज्ञानिक कर प्रणालीलाई हटाई  वैज्ञानिक तरिकाले कर प्रणाली लागू गर्ने, बिर्तामोडमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि पहल गर्दै पूर्वाधार निर्माणमा आफ्नो भूमिका निर्वाह गर्ने, अब्यवस्थित रुपमा रहेको पार्किङलाई व्यवस्थापन गर्नका लागि स्थानीय सरकारसहित सरोकारवालासँग पहल गर्ने, उत्पादन मुखी ब्यवसायलाई प्राथमिकता दिनेलगायतका प्रतिवद्धता उनले जनाएका छन् । 

मार्वल तथा टायल्स ब्यवसायी संघ झापाको संस्थापक अध्यक्ष समेत रहेका कुशलले यसअघि पनि ब्यवसाय र ब्यवसायीका समस्या, पिरमर्कासहित त्यहाँ भित्रका विकृति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

उनले यसपटकको निर्वाचनमा ब्यक्ति भन्दापनि कामको मूल्याङ्कनका् आधारमा योग्य र संक्षम उम्मेद्वार छान्न मतदातालाई आग्रहसमेत गरेका छन् । उनी आफुले बिगतमा गरेको कामको आधारमा मतदाताले   मूल्याङ्कन गरेर यस पटक महासचिव पदमा विजयी गराउनेमा ढुक्क छन् । 

आफू महासचिवमा निर्वाचित भएमा बिर्तामोडमा उद्योगी ब्यवसायीका हरेक समस्यालाई समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउदैं आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।  उनले विभिन्न बस्तुगत संगठनहरुसंगको छलफल, करको दायरा, राश्वकार्यालय, स्थानीय सरकार तथा विभिन्न सरोकारवाला निकायसंग छलफल गर्दै ब्यवसायीको हितमा काम गर्न आफू कटिबद्ध रहेको बताउँछन् ।

शिक्षामा स्नाकोत्तरसम्म अध्ययन गरेका युवा कुशल सामाजिक सेवाको क्षेत्रमा पनि क्रियाशील छन् । २०४४ फागुन ७ गते पिता पं. लक्ष्मीप्रसाद खतिवडा र माता इन्द्रमाया खतिवडाको साइलो सुपुत्रका रुपमा जन्मिएका कुशल ब्यवसायीक कुशलताका कारण झापामा सफल ब्यवसायीको रुपमा परिचित छन्।  उनी पूर्वेली युवा क्लवको संस्थापक सचिव र हाल उपाध्यक्षको भूमिकामा रहेका छन् । 

वीरता जेसीजका सदस्य हुँदै महासचिव तथा कार्यकारीणी उपाध्यक्ष समेत भएका खतिवडा लायन्स क्लव अफ बिर्तामोडको सदस्यको जिम्वेवारी निर्वाह गरिसकेका छन् । उनले राजु न्यौपाने नृतृत्वको लोकतान्त्रिक ब्यवसायीक प्यानलका सवै उम्मेद्वारलाई बिजयी गराउन सवै मतदाता ब्यवसायीहरुमा अपिल समेत गरेका छन् ।