सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाका दुई ब्यक्तिले लाखौं रकम लिएर एक जना सम्पर्क बिहीन भएका छन् भने अर्काले पटक–पटक माग्दा पनि पैसा नदिएको उमादेबी गौतम कार्कीले बताएकी छिन् । 

कनकाई– ३ सुरुङ्गाका दिनेश भनिने सिङ्गबहादुर बस्नेतले १४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क बिहीन भएका र कनकाई–४ का विकास बुढाथोकीले ९ लाख रुपैयाँ लगेर नतिरेको कनकाई ३ कै ती पिडीत महिला गौतमले आरोप लगाएकी हुन् ।

गौतमले आफ्नै निवासमा शुक्रवार (आज) पत्रकारहरुसँग कुरा गर्दै लगेको रकम उनीहरुले फिर्ता नगर्दा छोराछोरीको पठनपाठनसमेत रोकिएको बताएकी छिन् ।  

गौतमले बुढाथोकीलाई २०७५ साल जेठ १८ गते ७ लाख, पुनः अर्को पटक २ लाख रुपैयाँ दिएको बताइन् । बुढाथोकीले शुरु–शुरुमा लगेको रुपैयाँको ब्याज दिने गरेको भएपनि पछि ब्याजसमेत नदिने र सावा माग्दा समेत अहिलेसम्म नदिएको बताइन् । पटक–पटक सुरुङ्गा चौकी र इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा रकम फिर्ताका लागि छलफल हुँदा पनि रकम फिर्ता नगरेको भन्दै सरोकारवाला सवैलाई रकम फिर्ताका लागि पहल गरिदिन गौतमले अपिलसमेत गरेकी छिन् । 

केही समयअघिसम्म पैसा दिन नसकेपनि जग्गा दिएर मिलाउँछु भन्दै आएका बुढाथोकीले अहिले आफु जमानी मात्र भएकाले नदिने र मुद्दा हाल्नु भन्ने गरेको गौतमले सुनाइन् । 

umadevi

बुढाथोकीले नै चिनजान गराएपछि उनका सालो पर्ने दिनेश भनिने सिङ्गबहादुर बस्नेतलाई १४ लाख ५० हजार रुपैयाँ दिएको भएपनि उनी अहिले सम्पर्क बिहीन भएको गौतमको भनाई छ । दिनेशकी श्रीमती सपना कार्की बस्नेतसँग एक बर्षअघि कुरा गर्दा म विस्तारै पैसा तिर्छु भनेकी भएपनि कागज गर्न नमानेकि गौतमले बताइन् । सपनाले कागज गर्नुपर्छ भने म तिर्दीन मुद्दा हाल्नु भन्ने जवाफ दिएको पिडीत महिला गौतमले बताइन् । 

पिडीत महिला गौतमले उनकी साथी मंगलीमाया सार्कीसँग लिएको १० लाख, आफुसँग भएको ३ लाख ५० हजार र एक लाख सहकारीमा बचत गरेको रकम पटक–पटक गरेर दिनेशलाई दिएको बताइन् । दिनेशले उक्त पैसा नदिएपछि पिडीत गौतमले आफ्ना श्रीमान शालिकराम कार्कीको नाममा रहेको एक कठ्ठा जग्गा दिएर मंगलीमायाको हिसाव मिलाएपनि अहिलेसम्म उनीहरुले पैसा फिर्ता नगरेको पिडीत बताएकी छिन् । 

यता गौतमले उपलब्ध गराएको विकास बुढाथोकीको मोवाइल नम्बर ९८१४०४२१३१ र ९८२४९२९३३१ मा सम्पर्क गर्दा एउटामा सम्पर्क हुन सकेन भने अर्को नम्बरमा कल गर्दा काटेका छन् । त्यस्तै गौतमले नै उपलब्ध गराएको सम्पर्क बिहीन दिनेशकी श्रीमती सपना कार्की बस्नेतको मोवबाइल नम्बर ९८२४०४४१७३ मा पनि कल गर्दा फोन काटेकी छिन् ।