बिर्तामोड ।  

बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका सत्रुघनप्रसाद गुप्ताले स्थानीय सरकारले बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने बताएका छन् ।

उनले बर्षौदेखि बिर्तामोडमा सार्वजनिक शौचालय अभावका कारण आन्तरीक तथा बाह्य पर्यटक सहित पैदल यात्रीहरु समस्या पर्दै आएको उल्लेख गर्दै उनले आफु निर्वाचित भए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने बताउंछन् ।

त्यस्तै ब्यवसायीहरुले संघमा ३ बर्षमा एकै पटक नविकरण गर्दा २ हजार २सय रुपैयाँ सम्म लाग्ने गरेको बताउँदै त्यसलाई परिमार्जित गरी हरेक बर्ष नविकरण गर्दा ३ सय ५० देखि ४ सय रुपैयाँसम्म मात्र शुल्क लिने बातावरण बनाउन पहल गर्ने बताएका छन् । उनका अनुसार दस्तुर घटाएर धेरै ब्यवसायीलाई संघमा आवद्ध गराउन यसले मद्धत पुग्ने छ ।

हाल बिर्तामोड बजार क्षेत्रमा घर बहाल कर व्यवसायीले नै तिर्दै आएको बताउँदै उनले ब्यवसायीले घर भाडा तिरेपछि घरबहाल कर स्वयम घरधनीले तिर्नु पर्ने भएपनि अहिलेसम्म अधिकांशले नतिरेको बताएका छन् । तसर्थ यसकालागि संघमा पुगे पहल गर्ने गुप्ताको भनाई छ ।

गुप्ता झापा चेम्वर्स अफ कर्मशका संस्थापक सदस्य, हाल कोषाध्यक्ष, सुन्दर सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष, रौनियार सेवा समितिका संस्थापक कोषाध्यक्ष, श्री छठ समाज सेवा समितिका पूर्व सचिव हाल सल्लाहकार, ऊँ शान्ति टोल विकास संस्थाका सह–सचिव, जनजाती कल्याण आश्रमका सचिवलगायतका संघरसंस्थामा आवद्ध रहेको छन् । गुप्ता २३ बर्षदेखि बिर्तामोड स्थित प्रसाई मार्केटमा  न्यु गुप्ता क्लोथ सेन्टर सञ्चालन गरिरहेका छन् ।

उनले आफुसहित अर्जुन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र ब्यवसायकि प्यानललाई बिजयी गराउन सवै मतदाता व्यवसायीलाई आग्रह गरेका छन् ।