झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका –६ चुल्ठे पाखामा मंगलबार (आज) भएको आगलागीमा १० लाख रुपैयाँको क्षति भएको छ । आज बिहान १०ः३० बजेको समयमा सोही ठाउँ बस्ने ५६ बर्षिय सुर्य सुनुवारको सिमेन्ट ढुङगाको वाल काठको खम्बा टिनको छानो भएको २ कोठे निर्माणाधिन घर र काठको खम्बा टिनको छानो भएको २ कोठे खाना पकाउने किचन घरमा तरकारी पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भएको थियो । 

आगलागीबाट २ वटा घर, घर भित्र राखेको अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठको सामान बनाउन प्रयोग हुने मेसिनहरु, महत्वपूर्ण कागजात, घरबनाउन राखेको २० कि.बी. चिलाउनेको काठ, बजारमा बेच्नको लागि बुनेर तयार गरेको  ४० वटा नाङग्लो समेत आगलागीबाट जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

प्रहरी र स्थानिय बासीको सहयोगमा १२ बजे उक्त आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त आगलागीबाट .१० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।