झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी मार्च महिनाको पहिलो हप्ता यूएईमा आयोजना गर्ने रोजगार मेला ‘जव फेयर’लाई बृहत्तर रुप दिन बिभिन्न समिति गठन गरेको छ । संघले सल्लाहकार समिति, मूल समिति र ५ वटा उपसमिति गठन गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा  फागुन २ गते बसेको संघ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि फागुन ३ गते यूएईमा सम्पन्न गर्ने गरी निर्णय गरिएको जव फेयर आवश्यक तयारी नपुगेको भन्दै करिब तीन हप्ताको समय लम्ब्याएर फागुन १९ गते अर्थात मार्च २ तारिखमा गर्ने गरी नयाँ निर्णय गरिएको हो ।

जव फेयरका लागि पूर्वअध्यक्षहरु, संघका वर्तमान अध्यक्ष र सम्पूर्ण शुभेच्छुक संघ संस्थाका अध्यक्ष रहेको सल्लाहकार समिति गठन गरिएको छ । संघले प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिकबहादुर खत्रीको संयोजत्वमा मूल समिति गठन गरेको छ । मूल समितिमा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, तृतीय उपाध्यक्ष रोशन कटुवाल, सचिव कर्णराज कटुवाल सदस्य रहेको मूल समिति गठन गरेको छ । महासचिव मेघनाथ भुर्तेल मूल समितिको सदस्य सचिव रहेका छन् ।

त्यसैगरी कोषाध्यक्ष सरिता घले संयोजक रहेको आर्थिक उपसमिति  संघको कार्यसमिति सदस्य बैकुण्ठप्रसाद पौडेल संयोजक प्रचारप्रसार उपसमिति, कार्यसमिति सदस्य देवेन्द्र नारायण श्रेष्ठको संयोजक रहेको प्रेस छपाइ उपसमिति कार्यसमिति सदस्य नारायण भुषाल संयोजक रहेको भ्रमण व्यवस्थापन उपसमिति, सदस्य राजेन्द्र बस्नेत संयोजक रहेको जव फेयरको आन्तरिक व्यवस्थापन उपसमिति गठन गरेको संघले जनाएको छ ।