काठमाडौं । 

 वैदेशिक रोजगारीका नाममा ठगिएका युवायुवतीले तत्काल आफूहरूको ठगिएको रकम र क्षतिपूर्तिको रकम तत्काल असुलउपर गराइदिन माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङलगायतले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सय जना बढी युवायुवतीबाट करोडौं रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उनीसहित चार जनालाई पक्राउ गरेको थियो ।

वैदेशिक रोजगार विभागले उनीहरूलाई वैदेशिक रोजगार ऐनको ठगीमा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गरी थुनामा राखेको छ । तामाङले युरोपेली मुलुक क्रोएशिया, माल्टा, पोल्याण्ड र क्यानडालगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ६ सय जना बढीबाट करोडौं लिएको प्रहरीले बताएको छ ।

 तामाङले बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सल्ट्यान्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ करोडौँ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । पीडितहरूले अनुसन्धान र क्षतिपूर्तिको कामबारे विभागका महानिर्देशक डण्डुराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । 

ठगिएका कतिपयले अझैसम्म आफू ठगिएको वास्तविकता परिवारलाई बताउन नसकेको र काम हुँदैछ भनेर ढाँटिरहेको र ठगिएको रकम नपाएको अवस्थामा स्थिति जेसुकै हुने भन्दै विभाग परिसरमा नाराबाजी गरेका थिए । उनीहरूले समाचारमा तस्बिर प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।

महानिर्देशक घिमिरेले अभियुक्तले खरिद गरेको राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर रोक्का गरिएको जानकारी दिँदै शान्तिपूर्णरूपमा कानूनी उपचारमा लाग्न पीडितहरूलाई सुझाव दिएका छन् ।