झापा । 

साउदीमा वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका नेपालीहरु अवैधरुपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेलमा परेको सार्वजनिक भएको छ । 

साउदी अरेबियामा ४ सय ८० नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न रहेको अपराधमा पक्राउ परेका नेपाली कामदारहरु रहेका छन् ।

रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुने गरेको छ । कतिपयलाई साउदी प्रहरीले थुन्ने र कोर्रा हान्नेसम्मको सजाय गर्ने गरेको  छ । अवैधानिकरुपमा बसेका नेपालीहरुले कम आम्दानी भएका नेपाली मजदुरलाई मादक पदार्थ बेच्ने गरेको बताइएको छ । 

अवैधरुपमा मदिरा उत्पादन तथा बिक्री गर्ने नेपाली कामदारहरुमध्ये केहीलाई अदालतबाट सजाय सुनाइएको र केही कामदारको सजाय सुनाउन बाँकी नै रहेको उल्लेख छ ।