झापा । 

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वरोजगार उद्यमी बनेकालाई पुरस्कृत गर्ने भएको छ । बैदेशिक रोजगारकाबाट फर्केर उद्यमी बनेका युवायुवतीलाई मन्त्रालयले आगामी फागुन १५ गतेभित्र आवेदन दिन सकिने जनाएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर स्वरोजगार उद्यम गरेका व्यक्तिलाई प्रतिस्पर्धामा सहभागी हुन आवेदन दर्ता गर्न आह्वान गरेको हो ।

मन्त्रालयले वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको  पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड राखेको छ । 

पुरस्कृत हुन चाहने आकांक्षीले आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।

प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

समितिलाई प्रत्येक प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गर्नुपर्ने म्याण्डेट छ । आवेदक मध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अन्य सात जनाले ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फर्केका नेपालीले विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सुदुपयोग गर्न स्वदेश फर्किएर उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।