बिर्तामोड । 

कोशी नाम खारेजी गरेर प्रदेश नं. १ को पुनः नामाङ्कन पहिचानको आधारमा हुनु पर्ने मागसहित आन्दोलनमा उभिएका युवा नेता एल.बी.पालुङ्वा अहिले विभिन्न पहिचानबादी राजनैतिक शक्तिहरुलाई  जोड्ने अभियान अघि बढेका छन् । 

पालुङ्वासँग शुक्रबार (आज) बिर्तामोडमा भेटघाटका क्रममा उनले हाल भइरहेका पहिचानवादीहरुसँगको  समसामयिक राजनैतिक बिचारहरु बताएका हुन् । उनले प्रदेशको नामाङ्कनको विवाद राजनैनिक सहमतिमा टुङ्ग्याउनु पर्ने र एमालेलगायत सबै राजनैतिक दलहरु यस सन्दर्भमा जिम्मेवार हुनुपर्ने बताएका छन् । 

प्रदेशको नामको जिज्ञाशामा पहिचानलाई सम्बोधन गरेर ‘किरात–लिम्बुवान–कोच प्रदेश’ उपयुक्त हुने उनले बताए । उनले अझ स्वायत्तता र स्वशासलाई आत्मसात गरी दिगो शान्ति, बिकास र समृद्धिको लागि १ नम्बर प्रदेश  पुनःसंरचना गरेर संविधान सभाको राज्य पुनर्संरचना आयोग र समितिको सिफारिसलाई आत्म साथ गर्नुपर्ने जिकिर गरे । 

युवा नेता पाुलङ्वाले पहिचानको आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था अन्तर्गत संघीयता, धर्मनिरपेक्षता, समाबेशी र समानुपातिक ब्यवस्थाको खिलाफमा लागेका प्रतिगामी तत्वहरुको डटेर सामना गर्ने बताएका छन् । 

त्यस्तै अर्को प्रसङ्गमा राजा, राजतन्त्र र राजाबादीको कुरा भनेको हङ्रायोको कथा केटाकेटीलाई सुनाएको जस्तै मात्र भएको बताउँदै असम्भव र प्रतिगामी कुरा हुनै नसक्ने टिप्पणी गरे ।

त्यसैगरी इलाम क्षेत्र नम्बर २ को निर्वाचनको सवालमा उनले भने ‘पहिलो कुरा प्रदेश नामाङ्कनको आन्दोलनलाई सरकारले सम्बोधन गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ ।’ नेता पालुङ्वाले त्यसो भएमा पहिचानबादीले एउटै साझा उम्मेदवार उभ्याउने कुरासमेत बताएका छन् ।