झापा ।
दक्षिण कोरियाले आकर्षक तलबमा नेपाली कामदार लाने भएको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसरमा नेपाली युवालाई बैदेशिक रोजगारकीका लागि आकर्षक तलवमा लगिने तयारीका बिषयमा जानकारी गराइएको हो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले उक्त विषय सार्वजनिक गरेका हुन् ।
हाल ईपीएस प्रणालीबाट नेपाली कामदार लगेको दक्षिण कोरियाले निकट भविष्यमा मासिक तीन लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरिरहेको जनाइएको छ ।
हाल ईपीएस प्रणालीबाट गएका नेपालीले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । दक्षिण कोरियाका पानी जहाज निर्माण कार्यमा नेपाली कामदार लान खोजेको यसअघि पनि सार्वजनिक भएको थियो । सचिव भण्डारीले मासिक तीन लाख रूपैयाँ भन्दा धेरै मासिक तलब पाउने दक्ष नेपाली कामदार लैजाने दक्षिण कोरियाले प्रस्ताव गरेकाले त्यसका लागि कार्यविधि बनाइरहेको बताएका छन् ।
हाल दक्षिण कोरियाले कृषि, पानीजहाज निर्माणलगायतमा काम गर्न नेपाली कामदार लगिरहेको छ ।