हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ स्थित जलथलमा रहेको साना किसान  सहकारी संस्था लिमा ताला फोडेर नगद चोरी भएको छ । कार्यालयको ४ वटा ताला तोडेर एक लाख ७८ हजार १२२ रुपैयाँ चोरी भएको संस्थाका सहायक प्रबन्धक युवराज भण्डारीले जानकारी दिए । 

उनका अनुसार एक लाख २५ हजार ५३७ रुपैयाँ र सदस्यको दूधको ५२ हजार ५८५ रुपैयाँ चोरी भएको छ । मंगलबार (आज) बिहान दूध संकलन गर्ने कर्मचारी चैतन्यप्रसाद आचार्य कार्यालयमा आउँदा तोडफोड भएको पत्ता लागेको संस्थाका सहायक प्रबन्धक युवराज भण्डारीले जानकारी दिए । 

कार्यालयको दक्षिणपट्टीको चैनगेट र मुलढोकालगायतका ४ वटा ताला तोडेर सिसि क्यामेराको डिभाइससमेत चोरी भएको भण्डारीले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटना स्थल गएको प्रहरीले जनाएको छ ।  हल्दीबारीमा  पछिल्लो समय चोरीका घटना बढदै गएका छन्।