झापा । 

युएईमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको हित प्रवर्द्धनका लागि रोजगार मेला  ‘जव फेयर’ को तयारी गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यूएईमा आगामी फागुनमा रोजगार मेला ‘जव फेयर’ गर्न तयारी शुरु गरेको छ ।

यूएईको सबै क्षेत्रमा नेपाली कामदारको डिमाण्ड रहेपनि बिचौलियाहरुका कारण उक्त डिमाण्ड अन्यत्र जाने अवस्था रहेको भन्दै संघले बिचौलियाहरूलाई कामदारको भर्ना प्रक्रियामा  निषेध गरी रोजगारदातासँग नेपाली म्यानपावरको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवधारणाअनुसार रोजगार मेलाको तयारी गरेको संघले जनाएको छ । 

संघको समन्वयमा आगामी फागुन ३ अर्थात फेब्रुअरी १५ तारिखमा यूएई सरकारका प्रतिनिधि, त्यहाँका बहुराष्ट्रियसहित ठूला रोजगारदाता कम्पनी, चेम्बर अफ कमर्सलगायत विभिन्न व्यावसायिक संस्थाको सहभागितामा जव फेयर गरिने भएको संघले जानकारी दिएको छ । 

जव फेयर लगाउने विषयमा संघलाई छाता संस्था मान्ने शुभेच्छुक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग सोमबार प्रारम्भिक चरणमा छलफल गरिएको जनाइएको छ ।