झापा । 

 वैदेशिक रोजगारीमा आकर्षण तलवको प्रलोभन देखाएर युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा सात जनालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट लिखु घर भई हाल काठमाडौंको तारकेश्वर नेपालटार बस्ने रोजिन न्यौपानेलाई न्यौपानेलेलाई पक्राउ गरेको हो । 

निरज धमलासमेत ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने बताएर १२ लाख रुपैयाँ लिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भनेर न्यौपानेले धमलासमेत ७ जनालाई प्रलोभनमा पारी उनीहरूबाट पटक–पटक गरी १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन् ।

 काठमाडौंको माछापोखरीबाट पक्राउ परेका न्यौपानेलाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।