झापा ।
आज पौष शुक्ल पूर्णिमादेखि शुरु गरिने श्री स्वस्थानी व्रतकथा शुभराम्भ भएको छ । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने ब्रत बसेर श्री स्वास्थानी माताको पूजा आराधना गरिन्छ । सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन शुरु गरेर यी देवीदेवताको पूजा आराधना शुरु गरिन्छ ।
वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्ने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुने गर्छ ।
बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।