झापा । 

मलेशियाले स्रोत मुलुकसँगको द्विपक्षीय श्रम सम्झौता पुनरावलोकन गर्ने भएको छ । मलेशियाले हाल थाइल्याण्ड, कम्बोडिया, नेपाल, म्यानमार, लाओस, भियतनाम, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, बंगलादेश, तुर्केमेनिस्तान, उज्वेकिस्तान, काजाकिस्तान, भारत र इन्डोनेसियासँगको श्रम सम्झौता पुनरावलोकन गर्ने जनाएको छ ।

मलेशियाले हाल यी १५ वटा देशबाट विदेशी कामदार लाने गरेको छ ।  हाल मलेशियामा कार्यरत विदेशी कामदारको ७७ प्रतिशत हिस्सा बंगलादेशी, इन्डोनेसियाली र नेपाली कामदारको रहेको छ । 

 मलेशियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलले केही क्षेत्रमा जनशक्तिको राम्रो वितरण सुनिश्चित गर्न विदेशी कामदार भर्ना सम्बन्धी १५ स्रोत देशसँग गरेको सम्झौता पुनरावलोकन गर्ने अवस्था देखिएको बताएका छन् ।

गत जनवरी १६ तारिकमा मलेशियाका गृहमन्त्री र मानव संशाधन मन्त्रीले विदेशी कामदारको रोकिएको एप्रुभलका बारेमा छलफल गरेका थिए । छलफलमा प्लान्टेशन बाहेक सबै क्षेत्रमा विदेशी कामदार पर्याप्त देखिएकाले स्रोत मुलुकसँगको समझदारी पत्रमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको बताइएको छ । गृहमन्त्री सैफुद्दीनले समझदारी पत्रमा कामदारको भर्ना शुल्क, लागत र स्वास्थ्य सेवालगायतका विषयमा जोड दिइने जनाइएको छ ।