झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदार पठाउँदा लिइने सेवा शुल्क वृद्धिलगायतका व्यवसायीका जायज मागहरु लामो समयसम्म पनि सम्बोधन नगरिएको भन्दै मागपत्र पेश गरेको छ।  

संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष १९ बुँदे मागपत्र पेश गरेको हो । वैदेशिक रोजगारमा जाने कामदारको हक हितको संरक्षण गरी वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनलगायतका माग गर्दै संघले मन्त्रालयकाको ध्यानाकर्षण गराएको हो । आइतबार मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीमार्फत संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको हो । 

सचिव भण्डारीसमक्ष ज्ञापनपत्र पेश गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले कामदारको लागत निर्धारण गरी कामदार पठाएबापत मागपत्रमा उल्लेख भएअनुसार व्यवसायीले कामदारको न्यूनतम १ महिना तलब बराबरको रकम सेवा शुल्क लिन पाउने वैधानिक व्यवस्था, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार लगायतका माग उठाएको बताएका छन् । 

 संघले उठाएका जायज मागहरु सम्बोधन नभए तथा समस्या समाधान नगरिएमा व्यवसाय सञ्चालन गर्न नसकिने र बाध्य भएर वैदेशिक रोजगारमा कामदार पठाउन बन्द गर्ने मन्त्रालयलाई जानकारी गराएको छ । ज्ञापनपत्र बुझ्दै सचिव भण्डारीले संघले उठाएका समस्या गम्भीर रहेकाले समाधानका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन् ।